January 21, 2017

तीन महिनामा साढे ४ अर्ब सरकारी ऋण


काठमाडौं, पुस २४—सरकारी खातामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४ अर्ब ३९ करोड २३ लाख पाँच हजार रुपैयाँ ऋण थपिएको छ । थपिएको सबै ऋण वैदेशिक ऋणअन्तर्गत पर्छ ।

चालू वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा १३ अर्ब ५ करोड ५३ लाख ३५ हजार रुपैयाँबराबरको वैदेशिक ऋण प्राप्त भएको थियो । प्रचलित मुख्य मुद्राहरुको विनिमय दरमा देखिएको गिरावट र अघिल्लो त्रैमासमा वैदेशिक ऋणको फरफारक बढी हुँदा समग्रमा नेपाली रुपैयाँमा वैदेशिक ऋणको दायरा विस्तार भएको देखिएको हो ।

यसअवधिमा लिएको ऋणसँगै सरकारले तिर्नुपर्ने कुल ऋणको हिस्सा ०.७ प्रतिशतले बढेर ६ खर्ब ३२ अर्ब १८ करोड ४० लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

कुल ऋणमध्ये आन्तरिक ऋण २ खर्ब ३९ अर्ब २ करोड ८९ लाख ७४ हजार र वैदेशिक ऋण ३ खर्ब ९३ अर्ब १५ करोड ५० लाख ९० हजार रुपैयाँ छ । गत असारमा वैदेशिक ऋण ३ खर्ब ८८ अर्ब ७६ करोड २७ लाख ८५ हजार रुपैयाँ थियो । यसअवधिमा वैदेशिक ऋण १.१ प्रतिशतको वृद्धि भएको देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार सरकारले पहिलो त्रैमासमा आन्तरिक ऋण लिएको छैन । यसअवधिमा सरकारले वैदेशिक ऋण मात्रै लिएकाले वैदेशिक ऋणको हिस्सा बढेर ६२ प्रतिशत र आन्तरिक ऋणको हिस्सा घटेर ३८ प्रतिशत पुगेको छ ।

समग्रमा सरकारी ऋणको हिस्सा वृद्धि भएकाले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ऋणको अनुपात पनि वृद्धि भएको छ । महालेखाका अनुसार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/७३ को २२ खर्ब ४९ अर्बका आधारमा जीडीपी ऋण अनुपात २८.११ प्रतिशत पुगेको छ । गत असारमा यस्तो अनुपात २७.९१ प्रतिशत थियो । जीडीपीमा वैदेशिक ऋणको हिस्सा १७.४८ प्रतिशत र आन्तरिक ऋणको हिस्सा १०।६३ प्रतिशत छ ।

त्यसमध्ये १२ अर्ब ५० करोड ३२ लाख ३ हजार बहुपक्षीय र ५५ करोड २१ लाख ३२ हजार रुपैयाँ द्विपक्षीय सहयोगी दाताबाट प्राप्त भएको हो । ३ अर्ब ३४ करोड ४३ लाख ६० हजार रुपैयाँ वैदेशिक ऋणको सावाँ तथा ६२ करोड ५२ लाख ७६ हजार वैदेशिक ऋणको ब्याज र १ अर्ब ८० लाख ५७ हजार रुपैयाँ आन्तरिक ऋणको ब्याज गरि ४ अर्ब ९७ करोड ७६ लाख ९४ हजार रुपैयाँ ऋण सरकारले तिरेको छ आजको कारोबारमा समाचार छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*