January 21, 2017

प्रहरी बुलेटिन : देशभर कहाँ के–के घटना घटे ?

लागूऔषध चरेश सहित पक्राउ
काठमाडौं – इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध चरेशको खरिद विक्री गर्ने ४ जनालाई ४० के.जी. चरेश र १ लाख ६१ हजार २ सय भारतीय रुपैयाँ सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भुमेस्थान–७ सिम्ले बस्ने शम्भु रिजाल, भारतीय नागरिक अकलेश कुमार भगत, सन्तोष पासवान र बिट्ट भन्ने मधु गिरी रहेका छन् । भुमेस्थान–६ सिम्ले बजारमा शम्भु रिजालले ठूलो परिमाणमा लागूऔषध चरेशको बेच बिखन कारोवार गरिरहेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार राति खरिद विक्री गरिरहेको अवस्थामा पक्राउ गर्ने क्रममा उनीहरु चरेश लिएर भागेका थिए ।

प्रहरीले केही पर रहेको गोठबाट भारतीय नागरिकहरुलाई ४ वटा झोलामा रहेको उक्त चरेश र नगद ९ हजार २ सय भारतीय रुपैयाँ सहित र कारोवारी रिजाललाई भाग्दै गरेको अवस्थामा भारतीय १ लाख ५२ हजार रुपैया सहित पक्राउ गरेको हो ।

लागूऔषध गाँजा बरामद
पर्सा: झौवागुठी–६ बस्ने पन्नालाल साह सोनारको घरबाट प्रहरीले अवैध लागूऔषध गाँजा १० किलो बरामद गरेको छ । सोनारले भारतमा लगेर बिक्री बितरण गर्ने उद्धेश्यले घरमा गाँजा लुकाई छिपाई राखेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार उनको घर तलासी गर्दा बोरामा लुकाई राखेको अवस्थामा ५ किलो र उनको खाली जग्गामा रहेको बोरामा ५ किलो गाँजा बरामद भएको थियो । फरार रहका सोनारको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

टिपर दुर्घटनामा मृत्यु
रामेछाप: मन्थली नगरपालिका–१ मक्षेडाँडी स्थित सडक खण्डमा ना.१ अ ५७ नम्बरको टिपर बुधबार सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना हुदाँ सिन्धुली भद्रकाली–८ बस्ने १८ बर्षीय रमेश बम्जन र मोहन खडकाको मृत्यु भएको छ ।

दुर्घटनामा बम्जनको घटनास्थलमै र खड्काको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक सहित २ जनालाई उपचारको लागि धुलीखेलमा पठाइएको छ ।

मृत अवस्थामा फेला
कास्की:पोखरा–१७ तितेपानीमा भारत घर भएका ३६ बर्षीय सागर अन्सारी बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट क्षति
अछाम: भैरवस्थान–८ पुत्रा बस्ने मनिराम बुढाको घरमा मंगलबार आगलागी हुँदा करीव २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । आगलागीमा २० वटा बाख्रा र २५ वटा कुखुराको जलेर मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित पक्राउ
मोरङ: सुनसरी धरान उपमहानगरपालीका –१५ बस्ने १७ बर्षीय विवेक क्षेत्रीलाई प्रहरीले मंगलबार बिराटनगर उपमहानगरपालीका–१८ जतुवा चोकबाट अवैध लागूऔषध डाईजेल्याप १३ एम्पुल, लुपिजेसिक १३ एम्पुल र एभिल १३ एम्पुल सहित पक्राउ गरेको छ ।

यसैगरी लागूऔषध नियन्त्रण व्यूरो बिराटनगर शाखाबाट खटिएको प्रहरी टोलीले बिराटनगर उपमहानगरपालीका–२१ बाट साइकलयात्रीलाई पथरी शनिश्चरे नगरपालीका–४ बस्ने ३१ बर्षीय मनोज माझीलाई मंगलबार लुकाई छिपाई ल्याएको लागूऔषध स्पास्मो प्रोक्सिभन २ सय ८८ एम्पुल सहित पक्राउ गरेको छ ।

बिदेशबाट आएका यात्रुबाट सुन संकलन गर्ने पक्राउ
काठमाडौ:विदेशबाट आगमन भएका यात्रुहरुबाट सुन जस्तो देखिने पहेंलो बस्तु (सिक्रि ४ थान) १ सय ९९ ग्राम संकलन गरिरहेका मोरङ विराटनगर उपमहानगरपालिका–४ घर भई हाल दन्तकाली गेष्ट हाउस नयाँवसपार्कका प्रोपराईटर ४५ बर्षीय कमल निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट मंगलबार प्रहरीले उनलाई सुन जस्तो देखिने उक्त पहेंलो बस्तु संकलन गरी भंसार छलेर लैजान लागेको अवस्थामा फेला पारेको थियो । प्रहरीले उनलाई उक्त बस्तु सहित आवश्यक कारवाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

बाघको छाला बरामद
बझाङ:अस्थाई प्रहरी पोष्ट बाघसालाबाट खटिएको प्रहरी टोलीले भामचौर–६ स्थित पारीड डाडाँ जंगलको ओडारबाट मंगलबार बाघको जस्तो देखिने १ थान छाला बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको छ ।

सवारी दुर्घटनामा मृत्यु
काठमाडौ:काठमाडौँ महानगरपालिका–२९ सामाखुसी स्थित स्काई पार्टी प्यालेस अगाडी ना.६ ख १५७० नम्बरको ट्रकले पैदलयात्री नुवाकोट भद्रुटार–६ घर भई मनमैजु बस्ने ५८ बर्षीय ज्ञानेन्द्र प्रसाद सिटौलालाई मंगलबार ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी: सिमरदही–९ बहुरवाचोक स्थित भित्रि सडक खण्डमा कार्यालयबाट ज.२ प ३४६७ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई दुर्घटना हुदाँ सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार ३७ बर्षीयअमित कुमार सिंह गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

लडेर मृत्युः
मकवानपुर: टिष्टुङ–२ स्थित माईती घरमा बस्दै आएकी धादिङ नौबिसे–८ घर भएकी २१ बर्षीया मिनामाया गोलेको लडेर मृत्यु भएको छ । मंगलबार माईती घर नजिकै रहेको धारामा लुगा धुने क्रममा लड्न गई घाइते भएकी उनलाई उपचारको लागि थाहा पोलिक्लिनिक पालुङ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

महोत्तरी: रामनगर–८ स्थित एभरेष्ट सुगर मिल भित्र भारत पश्चिम चम्पारण बेतिया नरकटियागंज घर भई उक्त मिलमा क्रेन अपलोडरको काम गर्ने २२ बर्षीय गोलु कुमार तिवारीको मंगलबार उखु अनलोड गर्ने क्रममा क्रेन अपलोडरबाट लड्दा रेल्वे लिगमा खसेर घटनास्थलमै मृत्यु भएको छ ।

आगलागीबाट क्षति
सर्लाही: हरिपुर–१ बस्ने बिष्णु देब महतो सहित ७ जनाको ५१ कट्ठा जग्गामा रहेको उखु बारीमा मंगलबार आगलागी हुदाँ करीव ४ लाख रुपैयाँ बराबरको उखु जलेर क्षति भएको छ ।

काठमाडौ: दक्षिणकाली नगरपालिका–१४ छैमले बाधपाईला बस्ने शिबराम सुवेदीको गोठको टहरोमा गाईलाई कुंडो पकाउने क्रममा मंगलबार आगलागी हुदाँ २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा २ वटा गाईको जलेर मृत्यु भएको थियो ।

सप्तरी: बानरझुला–६ कन्चिरा बस्ने भोला ठाकुरको घरमा मंगलबार करेन्ट सर्ट भई आगलागी हुदाँ सोही ठाउँ बस्ने भब्लु ठाकुर, बिश्वनाथ ठाकुर र रन्जित ठाकुर समेतको ४ वटा घर जलेर करीव १५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा ५ वटा बाख्राको जलेर मृत्यु भएको थियो ।

रुपन्देही: सिद्धार्थ नगरपालिका–८ स्थित भलबारी बस्ने यम बहादुर पुनको बिगत १ बर्ष अगाडी देखि बिग्री राखेको लु.१ ख ५३४३ नम्बरको बसमा मंगलबार आगलागी हुदाँ बसको सिट जलेर क्षति भएको छ ।

कास्की: पोखरा उपमहानगरपालिका–६ लेकसाईड स्थित ट्राई स्टार होटलमा मंगलबार आगलागी हुदाँ होटलको तल्लो तलामा रहेको क्याफे, ट्राभल डेक्स, मनि चेन्जर, ट्रेकिङ एजेन्सी,¥याफ्टिङ एजेन्सी , कफि शप, माथिल्लो तलामा रहेको रेष्टुरेन्ट एण्ड बार र गेष्ट हाउसको २२ वटा कोठा तथा होटलमा पार्किङ गरी राखेको ग.४ प ७३७९ र ग.९ प ५८४० नम्बरको मोटरसाइकल समेत जलेर करीव ३ करोड बराबरको क्षति भएको छ ।

रौतहट:पचरुखी–४ बस्ने वकिल मन्सुरीको काठले बनेको फुसको घरमा करेन्ट सर्ट भई मंगलबार आगलागी हुदाँ २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा ८ वटा बाख्राको समेत मृत्यु भएको थियो ।

धनुषा:ठाडीझिजा–३ बस्ने वाडिर परवानीको घरको अगाडी सडकमा पार्किङ गरी राखेको बिआर ३२ ए ९९३९ नम्वरको टाटा सुमो जिपमा आगलागी भएर क्षति भएको छ ।
रोल्पा: दुबिडाँडा–२ माथिल्लो वाईजा बस्ने टेकलाल घर्तीको घरबाट मंगलबार आगलागी हुदाँ आगो बस्तीमा फैलिएर टेकलाल घर्तीको दुईतले कच्ची घर, शिबलाल घर्तीको कच्ची गोठ , लाल बहादुर बुढाको फुसको घरको एक तर्फको छानो जलेर क्षती भएको छ ।

कास्की: लेखनाथ नगरपालिका–८ डुँडाको मुख बस्ने सरस्वती अधिकारीको घरको भान्सामा मंगलबार ग्याँस बाल्ने क्रममा बाबा ग्याँस लिक गई आगलागी भएपछि आगो निभाउन छिमेकीहरु आएको अवस्थामा ग्याँस सिलिण्डर पड्कदा ४० बर्षीया रुकु थापा समेत ५ जना घाइते भएकोले ४ जनालाई मणिपाल अस्पतालमा र १ जनालाई उपचारको लागि स्थानीय मेडीकलमा लगिएको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*