काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेलाई क्रिकेटमा निलम्बन गरेको छ । जिम्बाबेको क्रिकेट बोर्डमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले निलम्बन गरेको हो ।

लण्डनमा भएको आईसीसी बोर्डको बैठकले जिम्बावे क्रिकेटमाथि सबै अनुदानहरु रोकेको छ भने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पनि बन्देज लगाएको छ ।

यसअघि जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले त्यहाँको बोर्ड निलम्बन गर्दै तदर्थ समिति बनाएको थियो । बोर्डको प्रशासनमा अनियमितता तथा भ्रष्टाचार भएका कारण सरकारले यस्तो निर्णय गरेको थियो । तर, त्यसलाई आईसीसीले सरकारी हस्तक्षेप देख्यो ।

आईसीसीले जिम्बावे क्रिकेटका पदाधिकारीलाई यो मुद्धा तीन महिनाभित्र समाधान गर्नका लागि अल्टिमेटम दिएको छ । आईसीसीको बोर्ड बैठक अक्टोबरमा हुनेछ र यो बैठकमा पुनरावलोकन गर्न सकिने बताइएको छ ।

तीनबर्ष अघि आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोही कारण देखाउँदै निलम्बन गरेको थियो । आईसीसीले नेपालमाथिको निलम्बन अझै फुकुवा गरेको छैन । नेपाली क्रिकेटलाई आईसीसीले अन्तर्राष्ट्रिय सहभागिताबाट भने रोकेको छैन ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo