काठमाडौं,,असोज ३ – आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइरहेको छ । संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको थियो । । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायत उपस्थित भएका थिए ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।

समारोहमा तीनै सुरक्षा निकाय र विभिन्न संघ संस्थाहरुले जातजातीको भेषभूषा झल्कने झाँकी प्रदर्शनका साथै काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको थियो । त्यसैगरी देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन् ।


सबै तस्वीर : नवीन पौडेल

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo