काठमाडौं, १६ असोज

(१) प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट भिडियो कन्फ्रेन्सद्वारा निर्देशन  
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गण्डकी प्रदेश तथा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत १७ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु एवं समसामयिक विषयमा बिहीबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएका छन् । चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रियताको लागि उहाँले उक्त निर्देशन दिइएको हो ।

(२) अवैध लागूऔषध सहित पक्राउ 

काठमाडौं महानगरपालिका-२९ सामाखुसीबाट लागूऔषध (मनोद्विपक पदार्थ) मेथ एम्फेटामाईन (ICE) १ केजी सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-२६ विजयपुर ठेगाना भएका ३७ वर्षीय भुवन अधिकारी र पर्सा पोखरिया नगरपालिका-८ ठेगाना भएका २२ वर्षीय हाजिफ नसिम अख्तर तेली रहेका छन् । साथै उनीहरुको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौं महानगरपालिका-१४ कलङकीबाट लागूऔषध (मनोद्विपक पदार्थ) एम्फेटामाईन (YABA) ४.५ ग्राम र लागूऔषध खात जस्तो देखिने सुकेको पात १ सय ग्राम सहित थप ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा पोखरीया नगरपालिका-८ ठेगाना भएका २८ वर्षीय महमद शहिद अख्तर, तनहुँ शुक्ला गण्डकी नगरपालिका-९ ठेगाना भएकी २३ वर्षीया रजिया खातुन र भारत बेथेल ऐजोल मिजोरम ठेगाना भएका ३१ वर्षीय जोसाङ लियाना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बसपार्कबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ६ केजी सहित बझाङ सुर्मा गाउँपालिका-४ बस्ने २३ वर्षीय सुरेश पुजारालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा आलुको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

नवलपरासी (पश्चिम) सरावल गाउँपालिका-१ बासाचोकस्थित महेन्द्र राजमार्गबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र नुर्फिन १ सय एम्पुल सहित रुपन्देही सिद्धार्थनगर नगरपालिका-१० बस्ने दिपक सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.१ ज ३१२९ नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा भ्यानमा सवार सुनारको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उक्त भ्यान चालक सोही ठाउँ बस्ने २२ वर्षीय सेराज आलमलाई समेत अनुसन्धानको लागि भ्यान सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(३) मृत अवस्थामा फेला 

बारा, फेटा गाउँपालिका-४ बतरा बस्ने ३५ वर्षीय जोगा मुखियाको घरमा रहेको खाली सुख्खा सेफटी ट्यांकीमा बुधबार बिहान ५ जना मृत अवस्थामा शव फेला परेका छन् । मृत फेला पर्नेहरुमा जोगा मुखिया, उनकी ३० वर्षीया श्रीमती लालमणी बिन, १२ वर्षीया छोरी सुमनी बिन, ३० वर्षीय महेन्द्र मुखिया बिन र हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय बाबा भनि बोलाउने पुरुष रहेका छन् ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ खनार डेरा गरी बस्ने रसुवा घर भएका २४ वर्षीय राम तामाङ सुतेकै स्थानमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी, गौशाला नगरपालिका-१० थापाटोल बस्ने बोल्न नसक्ने २२ वर्षीया शर्मिला दनुवार बिहीबार बिहान सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेकी छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगा चोक घर भएका ४४ वर्षीय सोम तामाङ खाना खाई सुतेकोमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
दोलखा, शैलुङ गाउँपालिका-६ फस्कु बस्ने ७० वर्षीय खड्क माया बिक घरदेखि करिब ५ सय मिटर पर खोल्सामा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।
ताप्लेजुङ, मैवाखोला गाउँपालिका-४ चौरेनी वाङगेलाम बस्ने २९ वर्षीय सुरेन्द्र तामाङ सोही गाउँपालिका-३ तालखर्कस्थित खोल्सामा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(४) आगलागीबाट धनमाल नष्ट

कावासोती नगरपालिका-८ सितल चोकस्थित देवचुली कपास कारखानामा बिहीबार बिहान बिजुली सर्ट भई आगलागी हुँदा कपास पेल्ने मेसिन, मोटर, कपास, कपडाहरु र कारखाना समेत जलेर नष्ट भई करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo