असोज २४, काठमाडौं-छ माया छपक्कैको ट्रेलर रिलिज भएसँगै मिश्रित प्रतिक्रिया आए । कतिपयले ट्रेलर राम्रो भएकाले फिल्म आशातीत हुन सक्ने बताए भने कतिपयले ट्रेलरमा त्यति दम नभएको बताए । “डन्ट जज अ बुक बाइ इट्स कभर” भनेझैं चलचित्रले उठान गर्न खोजेको मूल विषयवस्तु चलचित्रको ट्रेलरबाटै थाहा भएपनि निर्देशकले चलचित्रलाई फरक स्वादमा पस्किएका छन् भने पटकथामा राम्रो गृहकार्य भएको देखिन्छ ।

दीपकराज गिरी (बीपी पौडेल) आफ्नो बाबुको राजनीतिक सपना पूरा गराउन होमिएका हुन्छन् । पञ्चायतकालको व्यवस्था परिवर्तन गराउन नेतृत्व लिएर लडेका उनका बाबु भूमिगत भएर जनयुद्धमा समेत होमिन्छन् । वि.सं २०४५ सालको भूकम्पले क्षति पु¥याँदा सो गाउँको संरचनाहरु भत्किनुको साथै पानीको मुहान पनि सुक्छ । घरहरु त फेरी बन्छन् तर पानी ओसार्न ४ घण्टा पैदल हिंड्नुपर्ने हुन्छ । विभिन्न पार्टीले चुनाव अघि खानेपानी ल्याउने प्रतिबद्धता जाहेर गर्छन् तर त्यो चुनावी एजेण्डामा मात्रै सिमित रहन्छ । बिपीका बाबुले भने चुनाव लड्न पार्टीको टिकट पाउँदैनन् । खराब कर्मचारीतन्त्रले कसरी समस्या समाधान गर्नेतर्फ नभई कसरी समस्याको हवाला दिँदै व्यक्तिगत स्वार्थ पूरा गराउँछन् भन्ने पनि चित्रण गरिएको छ ।
शहरमा पढेर गाउँ आएकी केकी अधिकारी (जल) को परिवार प्रजातान्त्रिक पार्टीमा विश्वास राख्छ भने उनको मितबुवा सोही पार्टीबाट निरन्तर चुनाव लडिरहेका हुन्छन् । जलको गाउँमा पर्याप्त पानी भएपनि बिपीको गाउँमा भने पानीको हाहाकार हुन्छ । बिपीको गाउँमा पानी आपूर्ति गर्ने सबैभन्दा सरल समाधान जलको गाउँ भएतापनि फरक राजनीतिक विचारधाराको कारण दुई गाउँबीच सधैं शीतयुद्ध हुन्छ । यही द्वन्दमा जल र बिपीबीच प्रेम हुन्छ भने विभिन्न सामाजिक, राजनीतिक, पारिवारिक र सैद्धान्तिक जटिलतालाई सामना गर्दै अघि बढ्नुपर्ने हुन्छ ।
केदार प्रसाद घिमिरेका संवादहरुले दर्शकलाई हँसाईरहन्छ भने जितु नेपालले लामो राजनीतिक यात्रामा हतोत्साहित युवाको मनोदशा प्रस्तुत गरेका छन् । रमा थपलियाले हरेक घरमा नारीले खेल्ने भूमिकाको प्रतिनिधित्व गरेकी छिन् ।

राम्रो पक्षः
चलचित्रले उठान गरेको विषय सरल भएपनि दैनिक जीविकोपार्जनमा हुने राजनीतिले समस्या कसरी विकराल बन्छ भनेर देखाईको छ । हेर्दा गाउँको कथा मात्रै लागेपनि शहरवासीहरुलाई पनि यसले समस्याको ऐना देखाउँछ । दीपकराज गिरीको चलचित्र पारिवारिक मात्रै नभई युवाहरुको लागि पनि हो भन्ने बुझाई यस चलचित्रले स्थापित गर्न सक्छ । देशमा व्याप्त राजनीतिक वितृष्णालाई युवाहरुले राजनीतिक पार्टी होईन समाजलाई समातेर कसरी चिर्न सक्छन् भनेर समस्या मात्र देखाईएको छैन, समाधानको एउटा पाटो पनि देखाईएको छ, भलै त्यो अचूक समाधान नहोला । चलचित्र हेरुञ्जेल धेरैबेर मनोरञ्जन प्राप्त गर्न सकिन्छ भने केही दष्यहरुमा भावुक पनि भईन्छ । पटकथा र संवाद दमदार रहेको छ भने दिपेन्द्र लामाले निर्देशकको रुपमा प्रशंसा बटुल्ने मिहेनत गरेका छन् ।

तस्वीरः आज सिभिल मलमा फिल्मको टिकट लिन लागेको लाईन ।

कमजोर पक्षः
बिपी र जलबीच प्रेम बस्न अर्को एउटा प्लट बुनेको भए चलचित्र अझै जीवन्त लाग्न सक्थ्यो । एकाध दृष्यमा छोटो भूमिका खेल्ने कलाकारहरुको अभिनय अवास्तविक लाग्न सक्छ तर मुख्य कलाकारहरुको अभिनयले त्यसलाई बिर्साउन सक्छ ।

व्यापारः
फिल्मले ओपनिङ व्यापार राम्रो गर्ने देखिएको छ । अधिकांश हलहरु हाउसफुल भएको निर्माण पक्षले बताएको छ । चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गर्न सकिन्छ भने अब सम्भवत दीपकराज गिरी छक्का पञ्जाको छायाँबाट पनि मुक्त हुनेछन् । छक्का पञ्जाको मात्रै ब्याज खाँदै आएको भन्ने आरोपलाई उनले गलत सावित गर्न सफल भएको देखिन्छ ।

चलचित्रः छ माया छपक्कै
रेटिङः ३.५/५
कथा/निर्देशकः दिपेन्द्र लामा
कलाकारः दीपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर बाङदेल आदि
पटकथाः दिपकराज गिरी
संवादः दीपकराज गिरी, जितु नेपाल, केदार प्रसाद घिमिरे, अभिमन्यू निरबी
निर्माता: रोहित अधिकारी

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo