काठमाडौं । हास्य टेलिसिरियल ‘सक्किगोनि’ टिम र मिडिया हबबीचको विवाद टुङ्गिएको छ। गत आइतबार मिडिया हबले सक्किगोनि टिमविरुद्ध महानगरिय प्रहरी परिसर टेकुमा ‘कपीराइट’ उजुरी गरको थियो।

त्यसो त नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘भद्रगोल’ का कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को समूहले मिडिया हबसँगको असमझदारीको कारण भद्रगोलबाट एक महिना अघि अलग्गिएर ‘सक्किगोनि” निर्माण शुरु गरेका थिए।

तर सक्किगोनि नेपाल टेलिभिजनबाट प्रसारण शुरु भएको १ महिना नपुग्दै मिडिया हबले भद्रगोलको क्यारेटर कपी गरेको भन्दै कपिराइटको उजुरी गरेको थियो। तर अन्तत दुई पक्षको विवाद टुङ्गिएको छ।

कुमार कट्टेल (जिग्री) ले मिडिया हबसँगको असमझदारी मिलिसकेको बताए। उनले भने, ‘हामीले गरिरहेको कलाकारिता हाम्रै हिसाबले गर्न पाउने र मिडिया हबले पनि आफ्नै हिसाबले काम गर्न पाउने शर्तमा हाम्रो सम्झौता भयो। आउँदो दिनमा यी विषयमा कुनै पनि कुरा नउठाउने सहमति दुबै पक्षबीच भयो। अब सक्किगोनि नियमित प्रसारण हुनेछ।’

साथै कट्टेलले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि लामो स्टाटस पोष्ट गर्दै दुई पक्षीय विवाद मिलेको स्टाटसमा उल्लेख गरेका छन्। उनले लेखेका छन् ‘विवाद दुवैपक्ष बसी आपसी समझदारीमा टुंगोमा पुर्‍याइएको छ। कलाकार र सर्जकको मिडिया हब प्रालिको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौ।’ साथै पछिल्लो समयमा उत्पन्न विवादित विषय यही टुंगिएको र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती भएको समेत उनले स्टाटसमा उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo