काठमाडौं । नेकपा नेता सुभासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै बैधानिक सरकार भएको बताएका छन् ।

नेकपाको प्रदेश–१ सम्पर्क मञ्चले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेता नेम्वाङले निर्वाचन आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक नगरुन्जेलसम्म संविधान अनुसार ओली नेतृत्वको सरकार नै वैधानिक रहेको बताएका हुन् ।

उनले देश अब निर्वाचनमा गइसकेकाले निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि भने सरकारका कतिपय काममा स्वतः अवरोध सृजना हुन सक्ने बताए ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा देश स्थीरता र समृद्धिको दिशामा अघि बढिरहेका बेला त्यसलाई अस्वीकार गरेर राम्रो काम नगरिएको नेम्बाङको भनाइ छ ।

‘सञ्चार माध्यमले एउटा समाचार ल्यायो । दुई नेताले भेटेर प्रतिपक्षी साथीलाई पुनर्स्थापित संसदको प्रधानमन्त्री तपाईंलाई नै बनाउँछौँ भनेर भने रे ! मलाई यो कुरामा विश्वास छैन,’ नेम्वाङले भने, ‘केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजेको के हो ? देशले त्यसको जवाफ खोजिरहेको छ । मेची महाकालीले त्यसको जवाफ खोजिरहेको छ । अहिले त्यसको जवाफ म खोजिराखेको छु ।’

उनले महाधिवेशनमा ओलीसँगै पराजित भएका माधव नेपालले ओलीलाई हटाएर आफैँ अध्यक्ष बनेको कुरामा कटाक्ष समेत गरेका छन् । उनले व्यंग्य हान्दै ती नेतालाई कताकता चिने जस्तो लागेको तर अहिले उनको नाम बिर्सिएको टिप्पणी गरे ।

‘केपीलाई कारबाही गरेर को अध्यक्ष हुनु भो रे ? नाम बिर्सेँ मैले’ उनले भने, ‘हाम्रै अध्यक्ष केपी ओलीसँग केही समयअघि हार्नु भएको थियो । अहिले उहाँलाई निकालेर आफैँ अध्यक्ष हुनुभएछ । कस्तो सजिलो कुरा ?’

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo