काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भारतलाई दिएको कोरोनाविरुद्धको खोपबारे भ्रममा नपर्न आग्रह गरेका छन् ।

भारतले बिहीबार नेपाललाई १० लाख डोज खोप दिएको थियो । सोही खोपबारे नेपालमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला उनले यस्तो बताएका हुन् ।

यो खोप अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोप हो ।

भारतमा ४ लाख मानिसमा यो खोप लगाएकामध्ये दुई जननाको मृत्यु भएको विषयमा नेपालमा विभिन्न आशंका उत्पन्न भएका छन् । उनले ती मध्ये १ जनाको हार्ट एट्याकबाट मृत्यु भएको बताए । त्यस्तैनर्बेमा २३ जना जेष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोपले नभएर फाइजरको खोपका कारण मृत्यु भएको बताए ।

‘नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ । यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो’, उनले भने, ‘भारतमा तेस्रो चरणको क्लिनिकल ट्र्याल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो । भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ । कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन् । नेपालमा आएको यो खोप हैन ।’

उनले नेपालमा आएको कोभिशिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्ने र दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबोडी बन्ने बताएका छन् । उनले पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना रहेकाले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्ने स्पष्ट पारेका छन् ।

‘यो खोपको भारतमा ०.१५ प्रतिशतलाई साइड इफेक्ट देखिएको जनाइएको छ । खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक शकको खतरा हुनसक्छ । यस्तो भएमा आकस्मिक सुइको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन्,’ उनले भनेका छन् ।

जनस्वास्थ्य विज्ञ पाण्डेले सामान्य साइड इफेक्टको रुपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा ५ देखि ७ दिनसम्म दुख्ने र गिर्खा पर्ने लगायतका समस्या हुने बताएका छन् ।

‘कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डा लगायत खाद्य पदार्थको एलर्जी भएका तथा बिगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले बिशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ,’ उनले भनेका छन् ।

उनले गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान नभएकाले तसर्थ नलगाउनु सुरक्षित हुने बताए ।

त्यस्तै दीर्घरोगहरु क्यान्सर, मुटु र किड्नी र फोक्सो र मस्तिष्क र ब्लीडिंग डिस्अर्डर र प्लेटलेट सम्बन्धि समस्या र स्नायु प्रणाली आदिको समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभति भएपछि वा बिशेषज्ञको निगरानीमा केहि समयपछि लगाउनुपर्ने बताए ।

नेपालमा आएको यो खोप पहिले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शबबाहन चालकलाई लगाउने सरकारले नीति बनाएको छ । कोभ्याक्स सुबिधा अन्तर्गत २० प्रतिशत जनसंख्यालाई पुग्नेगरि खोप आउने उनले बताए ।

‘उक्त खोप २ महिनापछि ३ प्रतिशत जनसंख्याको लागि आउँछ । बाँकी १७ प्रतिशतका लागि उपलब्धता अनुसार बिस्तारै आउँछ’, उनले भनेका छन्, ‘अन्य खोप सरकारले तथा निजि क्षेत्रबाट उपलब्ध गराउने सरकारको योजना छ । खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, जनताको सम्पर्कमा रहेर काम गर्ने कर्मचारी, जेष्ठ नागरिक, दीर्घ बिरामी, बयस्क, एकपटक संक्रमण भएका अनि युवामा क्रमशः रहेको छ ।’

उनले २०२२ सम्म सबै नागरिकको खोपमा पहुँच हुनसक्ने भएकाले महामारीको नियन्त्रण हुनेबेलासम्म खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo