काठमाडौं । ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवनको आहुति दिएका थिए ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ ।

यसरी ढलेको थियो जहानियाँ शासन

विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनकामी नारा घन्किए, ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद।’ निरङ्कुश जहानियाँ शासनका विरुद्धमा निस्केको विशाल जुलुसको नेतृत्वकर्ता हुनुहुन्थ्यो, ओमप्रसाद गौचन।

प्रजातन्त्र प्राप्तिका लागि बागलुङबाट उठेको त्यो नै पहिलो आन्दोलन थियो। तीन दिनमै आन्दोलन उत्कर्षमा पुग्यो। तर, प्रजातन्त्रप्राप्तिका सपना भने पूरा भएन। सरकारी फौजको सहयोगमा तत्कालीन शासकले जिल्लालाई पुनः कब्जामा लिए।

बागलुङ त्यसबेला पाल्पा गौडाको प्रशासनिक एकाइमा थियो। क्रान्तिका पक्षधर तत्कालीन युवा आन्दोलनको नेतृत्वबाट पछि हटेनन् बागलुङवासी फेरि जुर्मुराए। आन्दोलन चर्किँदै गयो।

विसं २००७ माघ १५ मा बागलुङ जनताको नियन्त्रणमा आयो। गौचनको नेतृत्वमा बागलुङ जनसरकार गठन भयो। गौचन प्रधानमन्त्री रहेको मन्त्रिमण्डलमा कालिभक्त पन्तलाई उपप्रधानमन्त्री, चन्द्रमान थकालीलाई अर्थलगायत अन्य व्यक्तिलाई विभिन्न मन्त्रालयको जिम्मेवारी तोकियो।

‘बागलुङको ऐतिहासिक घटना’ पुस्तकका लेखक एवं अन्वेषक प्रेम छोटाका अनुसार जनसरकार विसं २००८ भदौसम्म चल्यो। बागलुङ पाल्पा गौडाको अधिनमा रहने भनी पाल्पाबाट आएका सरकारी अधिकृत र फौजले बागलुङ जनसरकारलाई भङ्ग गरेका थिए।

विसं २००७ फागुन ७ मा प्रजातन्त्र उदय भएपछि पनि बागलुङ पाल्पा बडीगौडाको अधिनमा रहिरहने कुरा पाल्पाबाट आएपछि त्यसको विरोध भयो।

विघटित जनसरकारका ग्राम विकासमन्त्री मोहनबहादुर मल्ललगायतका प्रतिनिधि काठमाडौँ पुगे। बागलुङको वस्तुस्थितिबारे जानकारी गराए।

बागलुङलाई स्वायत्त शासन प्रणाली भएको ‘बागलुङ गौडा’मा परिणत गराउनुपर्ने माग राखे। केन्द्रबाट माग पूरा भयो। विसं २००८ फागुन ८ गतेदेखि बागलुङ पाल्पा बडीगौडाबाट मुक्त भई स्वतन्त्र ‘बागलुङ गौडा’ बन्यो।

त्यसअघि बागलुङ पाल्पा बडीगौडाअन्तर्गत छोटी गौडाको हैसियतमा थियो। यसरी विसं १९९६ देखिनै बागलुङमा जागृत भएको राणा विरोधी भावना(चेतनाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुरुवाती योगदान दिएको थियो।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo