काठमाडौँ । सैन्य ‘कु’विरूद्ध आन्दोलित सर्वसाधारणमाथि म्यान्मारको सेनाले चलाएको गोली लागेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

म्यान्मारको सेनाले बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिएको बीबीसीले जनाएको छ ।

सुरक्षा फौजले विभिन्न शहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

म्यान्मारका छिमेकी मुलुकहरूले संयम अपनाउन त्यहाँको सेनालाई आग्रह गरेको भोलिपल्टै सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको हो ।

बुधबारको घटनामा १४ देखि १७ वर्षका किशोर किशोरीको पनि मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले बुधबारको घटनालाई सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिनको रूपमा अर्थ्याएको छ ।

म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य देखिएको बताएकी छन् । सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते भएको उनले बताइन् ।

गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्।

कूपछि नेत्री आङ सान सूची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ । प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन्।

सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। उक्त चुनावमा सूचीको दल नेशनल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो।

सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन। उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ।

सुरक्षा परिषदको बैठक बस्दै

म्यान्मारमा सेनाले सर्वसाधारणमाथि दमन गर्न थालेपछि यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बस्दैछ ।

बैठकमा म्यान्मारको अवस्था र आगामी कदमबारे छलफल हुनेछ । बुधवारको घटनापछि अमेरिकाले म्यान्मारको सेनाविरूद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।

बेलायतले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमार्फत कडा कदम चाल्नु पर्ने बताएको छ ।

अन्तर्राष्ट्रिय समुदायको चेतावनीलाई बेवास्ता गर्दै सेनाले प्रदर्शनविरुद्ध दमम तीब्र पारेको छ । सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको पनि बताएको बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर संकटकाल लगाए पनि म्यान्मारभरी सामूहिक प्रदर्शन जारी छन् ।

प्रदर्शनकारीहरूले सेनाले सत्ता हातमा लिएपछि नियन्त्रणमा लिइएकी नेत्री आङ सान सूचीसहित निर्वाचित सरकारका नेताहरूलाई रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् ।

सेनाले प्रदर्शनकारीहरू मारिएको भनिएको घटनाबारे टिप्पणी गरेको छैन। आइतवारको हिंसामा १८ जना मारिएका थिए। निर्वाचित सरकार अपदस्थ गर्दै शक्ति हातमा लिएको म्यान्मारको सेनाले सङ्कटकाल घोषणा गरेको छ।

पछिल्ला दिनहरूमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच हिंसा बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo