काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ। सरकारले कात्तिक २६ र मंसिर ३ मा दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेपछि आयोगले मध्यावधि चुनावका कार्यतालिका बनाएको हो।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका समयमा आयोग निर्वाचनको प्रक्रियामा जुटेको छ। आयोगले राजनीतिक दलहरुका लागि दल दर्ता, उम्मेदवारी दर्ता, चुनाव चिन्ह प्रदान गर्ने लगायतको कार्यतालिका बनाएको हो।

आयोगका एक सदस्यका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न असार ३१ गतेदेखि साउन १५ गतेसम्मको समय दिने तयारी छ। पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० र २१ गते उम्मेदवारी मनोनयन गर्ने तालिका छ भने दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते र कार्तिक १ गते उम्मेदवारी मनोनयनको तालिका बनाइएको छ।

पहिलो चरणका उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिन्ह असोज २५ गते र दोस्रो चरणका लागि कात्तिक ७ गते उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिन्ह दिने तयारी आयोगले गरेको छ।

सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ। अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo