नेपालमा कोरोनाविरुद्धको खोप अत्यन्त प्रभावकारी, एक मात्रा लगाएकामा ८० र पूर्ण मात्रामा ९० प्रतिशतसम्म एन्टिबडी
काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अत्यन्त प्रभावकारी भएको पाइएको छ। कोरोना संक्रमणको दोस्रो राष्ट्रिय सेरो प्रिभ्यालेन्स सर्भेक्षणको नतिजाले यस्तो देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (आइतबार) सार्वजनिक गरेको नतिजाअनुसार एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी विकास भएको पाइएको हो।

मन्त्रालयले कोरोना संक्रमणको सूक्ष्म विश्लेषण गरी कार्ययोजना बनाउन भन्दै ६ महिनाभन्दा माथिका १३ हजार १ सय ६१ जनाको परीक्षण नमूना विश्लेषण गरेको थियो।

देशभरिबाट संकलित सो नमूना परीक्षण गर्दा ६८ दशमलव ६ प्रतिशतमा कोरोना एन्टीबडी देखिएको छ। यो नमूना असार २१ देखि साउन ३० गतेसम्म संकलन गरिएको समेत उसले स्पष्ट पारेको छ।

तर मन्त्रालयका अनुसार भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम नै भाइरस नियन्त्रण गर्ने एक मात्र प्रभावकारी उपाय हो भन्दै अहिलेको मापदण्डको पूर्ण पालना गर्नै पर्ने भनेको छ।

उसले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भए स्थानीय तहमा सम्पर्क गरी निःशुल्क परीक्षण गर्न गराउन वा नजिकको सरकारी स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण हुने व्यवस्था गर्नसमेत अनुरोध गरेको छ।

मन्त्रालयले संक्रमण पुष्टि भएका व्यक्तिले बितेका ७ दिनभित्र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई अलग्गै बस्न तथा नियमित निगरानीमा रहन र कुनै पनि स्वास्थ्य समस्या हुनासाथ परीक्षण गराउन र १० दिन आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा बस्नसमेत अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo