काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षयताकै सबैभन्दा कम धान उत्पादन भएको जनाएको छ । प्रमुख धानबालीको रुपमा रहेको धान, आर्थिक वर्ष २०७७–७८ को तुलनामा ८ प्रतिशत ७४ प्रतिशतले कमी आएको मन्त्रालयद्वारा विज्ञप्तीमा उल्लेख गरेको छ ।

जससँगै यस वर्ष कुल ५१ लाख ३० हजार मेट्रिक टन धान नेपालका खेतीयोग्य जमिनमा उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष करिब ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान उत्पादन भएको थियो ।

साविकका वर्षका तुलनामा यस वर्ष करिब चार हजार हेक्टर थप क्षेत्रफलमा धान रोपाइ भएको थियो । तर, उत्पादकत्वका हिसाबमा भने चालु आर्थिक वर्षमा तीन दशमलब ४७ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन भएको अनुमान गरिएको छ ।

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म मूलुक भर आएको हावाहुरी सहितको अप्रत्यासित वर्षाको कारण धानबालीमा क्षति पुगेको र उत्पादकत्वमा ह्रास आएको मन्त्रालयको भनाइ छ ।

विशेषतः सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा धान थन्क्याउने समयमा परेको वर्षा तथा हावाहुरीले समग्र राष्ट्रियस्तरको धान उत्पादनमा कमी ल्याएको हो ।

प्रदेशस्तरमा भने गण्डकी प्रदेश बाहेकका अन्य प्रदेशमा साविकका वर्षहरूमा भन्दा धान उत्पादनमा कमी आयो । सुदूरपश्चिम ३१ दशमलब ४९ र लुम्बिनी प्रदेशमा १८ दशमलब ३८ प्रतिशतले उच्च गिरावट आएको छ ।

यता चैत धानमा गत आ.व. को तुलनामा शून्य दशमलब ३२ प्रतिशतले धान वृद्धि भई चार दशमलब ६४ मेट्रिक टन प्रति धान उत्पादन भएको छ । नेपालमा अन्दाजी १५ लाख हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo