काठमाडौं । कोरोनाको दर दैनिक बढ्न थालेसँगै सरकारले विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने भनेको छ ।

सरकारले यस्ता नियम लागू गर्न लागेसँगै खोप लगाउन छुटेका र पहिलो डोज लगाएका कतिपयलाई खोप लगाउन पाए हुने भन्ने भएको छ ।

काठमाडौंमा रहेका कसैले खोप लगाउन पाएका छैनन् वा दोस्रो मात्रा लगाउन बाँकी छ भने ११ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालनकै अवस्थामा छन् ।

१८ वर्षभन्दा माथिका उमेर समूहले ती ठाउँमा गएर खोप लगाउन सक्नेछन् । आफूलाई पायक पर्ने जुनसुकै ठाउँमा गएर खोप लगाउन सक्नेछन् । त्यसका लागि पहिलो डोज लगाएकाले खोप कार्ड र पहिलो मात्रा पनि नलगाएकाले आफ्नो परिचय पत्र लिएर जाँदा खोप लगाउन पाउनेछन् ।

काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका, बूढानिलकण्ठ नगरपालिका, नागार्जुन नगरपालिका र शंखरापुर नगरपालिकाबाहेक अन्य नगरपालिकाभित्र खोप कार्यक्रम सञ्चालनमा छन् । कीर्तिपुर नगरपालिकामा विष्णुदेवी अस्पताल कीर्तिपुरमा खोप कार्यक्रम सञ्चालनमा छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा पनि खोप कार्यक्रम यथावत् छ । नगरपालिकाभित्र मूलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीमा खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको गोकर्णेश्वर अस्पतालमा खोप कार्यक्रम सञ्चालन छ ।

दक्षिणकाली नगरपालिकाका प्रवक्ता अम्रिका बलामीका अनुसार खोप लगाउन छुटेकालाई नौवटै वडामा रहेका स्वास्थ्य चौकीमा खोप लगाइन्छ । तारकेश्वर नगरपालिकामा मनमैजु स्वास्थ्य चौकीमा बिहान १० देखि साँझ ४ बजेसम्म लगाइन्छ । टोखा नगरपालिकाले मंगलबारदेखि १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाउने भएकाले अन्य उमेर समूहलाई ६ माघसम्मका लागि खोप नलगाउने भएको छ ।

काठमाडौँका ६ स्थानीय तहबाहेक जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमातहत पनि खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । जसमध्ये काठमाडौँका आर्मी अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, टिचिङ अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सिभिल अस्पताल, प्रसूति गृह, वयोधा अस्पताल, कोटेश्वर एपेक्स पोलिक्लिनिक, नयाँ बसपार्क गोंगबु, सहिद मेमोरियल अस्पताल कलंकीमा गएर छुटेका वा पहिलो डोज लगाएकाले खोप लगाउन सकिनेछ । यी अस्पतालमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइन्छ ।
-नयाँपत्रिका

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo