काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा फेरि एउटा अर्को बिग मर्जर हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंक नेपाललाई आफूमा गाभ्ने भएको हो ।

शुक्रबार दुई बैंक बीच एकआपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इन्भेष्टमेन्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगाका तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ रहने छ । इन्भेष्टमेन्टले मेगा बैंकलाई १००ः९० सेयर अनुपातमा गाभ्न लागेको हो । अर्थात् प्राप्तिपछि मेगा बैंकको १०० कित्ता सेयर ९० कित्ता हुनेछ ।

हिमालयन बैंकसँग मर्जर प्रक्रिया भाँडिएपछि इन्भेष्टमेन्टलाई नेपाल राष्ट्र बैंकले १ वर्ष भित्र अर्को बैंकसँग मर्जर/प्राप्ति गर्न निर्देशन दिएको थियो । सोही अनुसार इन्भेष्टमेन्ट मेगासँग मर्ज भएर देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न लागेको हो ।

इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडेको हिमालयनले पनि अन्य बैंकहरूसँग अनौपचारिक रुपमा मर्जर प्रक्रिया अघि बढाइसकेको छ । राष्ट्र बैंकले कारबाही गर्दै हिमालयनलाई १ वर्ष भित्र अर्को बैंकसँग मर्जरमा जान वा प्राप्ति गर्न निर्देशन दिएको छ ।

मर्जर सम्झौता गरेसँगै आगामी समेबारदेखि नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक दुवैको सेयर कारोबार रोक्का हुने भएको छ । एकीकृत कारोबार सुरु भएपछि दुवै बैंकको सेयर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ नामबाट कारोबारमा आउने छ ।

अब दुवै बैंकले नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारलाई गाभ्ने/गाभिने सम्झौता बारे जानकारी गराउनुपर्नेछ ।

साढे २ वर्षमा चौंथौं बिग मर्जर सम्झौता
पछिल्लो साढे दुई वर्षको अवधिमा भएको यो चौथो बिग मर्जर सम्झौता हो । चार वटा बिग मर्जर सम्झौता भए पनि अहिलेसम्म एउटा मात्रैसफल भएको छ भने एउटा भाँडिएको छ । त्यस्तै, अर्को एउटा प्रक्रियामा रहेका छ ।

साढे २ वर्ष अघि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभेको थियो । त्यस्तै, गत वैशाख ३० गते नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीच मर्जर सम्झौता भएको थियो । तर, २०७८ पुस ३० गते बसेको हिमालयन बैंकको साधरण सभाले इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर प्रक्रिया भाँडिएको थियो ।

२०७८ पुस २९ गते नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्झौता गरेको थियो । यी दुई बैंकलाई एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको छ भने एक्वीजिशन प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।

इन्भेष्टमेन्ट र मेगाले प्रारम्भिक सम्झौता मात्र गरेकाले यो मर्जर सफल असफल के हुन्छ त्यो भने भविष्यमै देखिने छ । यद्यपि, इन्भेष्टमेन्ट बैंक एकपटक मर्जर प्रक्रिया भाँडिएर कारबाहीमा परेकाले मर्जर प्रक्रिया सफल होला भनेर आशा चाहिँ गर्न सकिन्छ ।

मर्जरपछि कत्रो बन्नेछ बैंक ?

दुई बैंक एक आपसमा मर्जर भएपछि अधिकांश सूचकका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्नेछ । मर्जर पछि बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ। यो हाल संचालनमा रहेका वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हुनेछ। यस्तै, मर्जरपछि बैंकको जगेडा कोष १९ अर्ब ६४ करोड रुपैयाँ हुनेछ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo