काठमाडौं । नेपालमा मंकीपक्सको संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट पारेको छ।

मंकीपक्सको आशंकामा निगरानीमा रहेका २६ वर्षीय एक युवकमा कुष्ठरोगको जीवाणु पुष्टि भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले बताइन्।

मिश्राले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी दिइन्।

दुबईबाट नेपाल फर्किएका ती व्यक्तिलाई मंकीपक्सको आशंकामा बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो।

ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिमिरा पनि देखिएकाले एयरपोर्टबाट सिधै टेकु अस्पताल पठाइएको थियो।

चिकित्सकहरूका अनुसार मंकीपक्सको संक्रमण देखिएपछि शरीरमा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखिन सक्छन्।

मंकीपक्स भएको ३-४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको चिकित्सकको भनाई छ। विश्वका २९ वटा देशमा मंकीपक्स देखा परेको र १ हजारभन्दा बढी संक्रमित भएका छन्।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo