अहिले मुलुक निर्वाचनमय बनेको छ । नयाँ संविधानको कार्यान्वयन र मुलुकलाई नयाँ दिशाबाट समृद्ध बनाउने घोषणापत्रहरु पढ्दै निर्वाचनमा नेपाली जनताहरुले प्रत्यक्ष सहभागीता जनाईरहेका छन् । पूर्व मेचीदेखि, पश्चिम महकालीसम्म अहिले राजनीतिक दलहरुका झण्डा लटरम्म फुलेका छन् । कति नेताहरुको नैतिकताको लडाई छ, कति नेताहरुको बल, बुद्धि र कतिको दादागिरीको । यो भीडन्तमा थोरैले जित्दै छन् र धेरैले हार्दै छन् । यो अवश्य भावी कुरा हो, तर खेल समाप्त नहुन्जेलसम्म सबै विजयी उम्मेदवार नै हुन । समग्रमा सबैले जितिरहेका हुन्छन हार्ने केवल मतदाताले मात्रै हो ।

प्रकाश समीर

मुलुकलाई बनाउने या भत्काउने भन्ने कुरा यो बेलाको हाम्रो मतबाट निर्धारित हुन्छ । यदि हामी कुनै पार्टीको झण्डा मुनि बसेनौ भने, बाउबाजेको आस्थाको चिन्हलाई त्याग्न सक्यौं भने र हाम्रो होइन राम्रोलाई चुन्न सक्यौं भने अवश्य पनि हामीले हाम्रो देश बनाउन योगदान दिने छौं । यतिबेलाको पुस्ता केही सचेत छ, सजग छ र आफ्नो भविष्यप्रति चिन्तित पनि छ । भावी सन्ततिको लागि देश बनाउने भजन मात्र गाउने होइन अब साच्चै देश बनाउने हो, राणाहरुको हातबाट खोसेर राजालाई देश बुझाएका जनताहरुले पुनः देशको तालाचावी आफैले खोसेका छन् । यो जनताद्धारा गरिने शासनको युग हो ।

यतिबेला पनि हामीले देश बनाउदैनौं केही ब्यक्तिहरुलाई नै बनाउन चाहन्छौं भने हामी साच्चै भेडा हौं, हामी साच्चै भूपी शेरचनको कविताका हल्लै हल्लाको देशका पात्र हौं । यो घडी अति सम्वेदनशील घडी हो । यतिबेला हामीले अपनाउने सचेतना हाम्रो भविष्यका लागि, हाम्रो भाग्यका लागि र हाम्रो भावी पुस्ताका लागि बन्ने छ ।

जव निर्वाचनको समय नजिकिन्छ, मतदाताहरुको हात होइन गोडासम्म छुन पछि परिदैन यहाँ । रमिता देखाउन केही बाँकी राखिन्न । गोठमा गएर भकारो सफा गर्ने, खेतमा गएर धान बोक्ने जस्ता अभिनयहरु थुप्रै मञ्चन भईरहेको देख्न सक्छौं, यी सबै भुलभुलैया हुन । यि सबै आँखामा छारो हाल्नकै निमित्त हुन भन्ने कुरा बाउआमालाई हामीले बुझाउनु पर्छ, किनकी हामी सोझा बाबु, आमाका सन्तति हैं ।

अर्को कुरा मुलुकमा वामएकताले एक खालको आशा जगमगाएको छ । वाम एकता यदि दलगत स्वार्थबाट माथि उठ्न सकेमा मुलुकका लागि केही हुन सक्ने आशा हामी थप्न सक्छौं । यो नेपाली राजनीतिक इतिहासकै सम्झना लायक घटना हो, तर देशको समृद्धिका लागि यो घटना दुर्घटना सावित नहोस् । कुनै पार्टीलाई पछि पार्नका लागि एकता गरिएको प्रमाणित नहोस् यो एकता मुलुकको समृद्धिका लागि बनोस् । स्थायी सरकारको खाँचो छ हामीलाई । म्यादी सरकारकै कारण विकास र निर्माणका थुप्रै कामहरु ओझेलिएका छन् ।

भूकम्प गएको २ वर्ष वितिसक्यो तर, भूकम्प पीडितहरु अझैं पीडामै छन् । म्यादी सरकारहरुले आफ्नो सरकारलाई टिकाउनका लागि लोभलाग्दा आश्वासनहरु बाहेक वास्तविक पीडितहरुले अनुभूति गर्ने गरी कुनै राहत पु¥याउन सकेन । राष्ट्रिय गौरवका थुप्रै आयोजनाहरु अलपत्र अवस्थामा छन् । पार्टी सञ्चालनको मेरुदण्डका रुपमा उभिएका यी आयोजनाहरु सम्पन्न हुनका लागि पनि स्थायी सरकारको आवश्यकता छ । यो वामएकताबाट सम्भव हुने लक्षणसम्म जनताले पाएका छन् । यसका लागि खाँचो राजनीतिक इमान्दारिताको छ ।

पछिल्लो समयमा नेपाली राजनीतिको आवरणमा आएका पात्र हुन रविन्द्र मिश्र । उनी यो समयमा सामाजिक सञ्जालहरुमा वेस्सरी छाएका छन् । समृद्धि हेरेरै मर्ने लक्ष्य बोकेर उनी चुनावी भागदौडमा छन् । तराजु चिन्ह बोकेर नेपालीहरुको माया जोख्ने महान अभियानमा छन् र अत्यन्तै चुनौतीपूर्ण ठाँउमा आफ्नो उम्मेदवारी पनि दिएका छन् । पत्रकारिता क्षेत्रमा लामो अनुभूति संगालेका र देशको राजनीतिलाई राम्रोसंग नियालेका मिश्र नेपाली राजनीतिमा आउनु गर्वको कुरा हो । उनी जत्तिको बक्ता र प्रतिवद्ध पात्र नेपाली राजनीतिका लागि आवश्यक छ ।

उनले उठाएका सबै सवालहरु पुरा हुन्छन् र हुनु पर्छ भन्ने पनि नठानौं तर हामीले रविन्द्रलाई छान्यौं भने त्यहाँ उनका प्रतिद्धन्द्धीले मात्र हार्ने छैनन, लामोसमयदेखि आफ्नो विरासत सम्झने र जनताको महत्वपूर्ण मतलाई पुर्खाको सम्पत्ति सम्झने संस्कारले पनि हार्ने छ । अर्को उपलब्धी रविन्द्रसंगै हामीले संसदमा जनताका कुराहरु प्रष्ट राख्ने सांसद पाउने छौं । मलाई के लाग्छ भने यो निर्वाचनमा तराजुले जितोस् या नजितोस् रविन्द्र मिश्र र रविन्द्र मिश्रहरुले जित्नै पर्छ । पहिलो चरणको निर्वाचन सम्पन्न भईसकेको छ र दोश्रो चरणको बाँकी छ । यी दुबै निर्वाचनमा जित्नेहरुले नै जितुन । जित्नै पर्नेहरुले जितुन । किनभने अव देश बनाउनै पर्ने छ ।

(लेखक समीरले बीगत लामो समय देखि नेपाली साहित्य क्षेत्रमा सक्रिय रुपमा कलम चलाउदै आएका छन् । राजधानीमा बसेर साहित्यसगैँ पत्रकारितामा पनि आफ्नो छवि बनाएका समीर एक सफल व्यवसायी पनि हुन् ।)

तपाईको प्रतिक्रिया