भक्तपुर, मंसिर १८-राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

कुल परिक्षार्थी भने १ लाख १ हजार ३ सय ७५ रहेको परीक्षा बोर्डले जनाएको छ । यो ३५ दशमलब ५८ प्रतिशत हो । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । नतिजामा चित्त नबुझ्ने विद्यार्थीले रु ५ सय तिरी १५ दिन भित्र आवेदन गर्न सक्ने बोर्डले बताएको छ ।

गत बर्ष कक्षा ११ को आंशिक परिक्षामा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत बर्ष १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४२ हजार ७ सय ९९ उत्तीर्ण भएका थिए ।

परीक्षा भएको ६ महिना सम्म पनि कक्षा ११ को नतिजा सार्वजनिक गर्न नसकेको भनेर आलोचना भईरहेका बेला बोर्डले आंशिकको नतिजा सार्वजनिक गरेर अपजस मेटाउने कोशिस गरेको हो ।

स्रोतका अनुसार नियमित तर्फको नतिजा भने चुनाव पछि मात्रै सार्वजनिक हुने बताइएको छ । परीक्षामा कार्यरत कर्मचारीलाई समेत चुनावमा खटाएपछि नतिजा सार्वजनिक गर्ने काममा प्रभाव परेको हो ।
स्थानीय तहको निर्वाचनका कारण परिक्षाको मिति पटक पटक सरेको कारण असार १ गतेदेखि ११ को परिक्षा भएको थियो । परिक्षामा देशभरबाट ४ लाख ४९ हजार ५४ जना विद्यार्थीले फारम भरेका थिए ।

तपाईको प्रतिक्रिया