काठमाडौं,  मंसिर २०-सरकारले गत वर्ष र यो वर्ष गरी गाई भैँसीलाई सुत्केरी भत्ताबापत सवा करोड रुपैयाँ वितरण गरेको छ ।

गाई–भैँसी सुत्केरी भत्ताबापत ४० जिल्लाका ४ हजार किसानलाई दिन स्थानीय निकायलाई १ करोड हस्तान्तरण

सरकारले गत वर्ष र यो वर्ष गरी गाई भैँसीलाई सुत्केरी भत्ताबापत सवा करोड रुपैयाँ वितरण गरेको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रमका लागि पशुसेवा मन्त्रालयमातहतको पशु उत्पादन निर्देशनालयले यो वर्ष ४० जिल्लाका ४ हजार किसानलाई गाई–भैँसी सुत्केरी भत्ताबापत १ करोड रुपैयाँ स्थानीय निकायलाई हस्तान्तरण गरेको हो ।

गत आर्थिक वर्ष २०७३-७४ मा किसानले गाई–भैंसी सुत्केरी भत्ताबापत २३ लाख रुपैयाँ पाएका थिए । पशु उत्पादन निर्देशनालयले गत वर्ष १० जिल्लाका १ हजार किसानलाई भत्ता दिने लक्ष्य लिएकोमा त्यसभन्दा केही कमले भत्ता पाएका हुन् । यद्यपि, ९ सय २१ ले किसानले मात्र भत्ताका लागि आवेदन दिएको निर्देशनालयका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए । गत वर्ष इलाम, उदयपुर, ललितपुर, नुवाकोट, पर्वत, स्याङ्जा, प्युठान, सुर्खेत, डडेल्धुरा र बैतडीमा कार्यक्रम सञ्चालन भएको थियो । ‘प्रत्येक जिल्लामा १ सय किसानका दरले १ हजारलाई भत्ता वितरण गर्ने लक्ष्य थियो,’ ढकालले भने, ‘तर, त्यसभन्दा थोरैको आवेदन परेकाले सबैले गाई–भैँसी स्याहार्न भत्ता लगेका छन् ।’

सरकारले गत वर्षदेखि सुत्केरी गाई–भैँसी स्याहार्ने किसानलाई २ हजार ५ सय रुपैयाँ दिन थालेको हो । गोठमा गर्भाधान भएको वा हुन लागेका गाई–भैँसी पाल्ने किसानले भत्ता लिन सम्बन्धित स्थानीय निकायमा जानकारी दिनुपर्ने निर्देशनालयका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए । ‘सुत्केरी गाई–भैँसी स्याहार्न किसानलाई सजिलो होस् भन्ने हिसाबले भत्ता वितरण थालिएको हो,’ उनले भने ।

यसरी पाइन्छ अनुदान
घरमा रहेको गाई–भैँसी गर्भाधान भएपछि किसानले सम्बन्धित स्थानीय निकायमा गएर प्रोत्साहन भत्ताका लागि आवेदन दिनुपर्छ । स्थानीय निकायमा रहेको मूल्यांकन समितिले पहिला आवेदन दिने किसानलाई पहिलो प्राथमिकतामा राखेर अनुदान वितरण गर्ने प्रावधान छ । तर, प्रत्येक स्थानीय तहमा निश्चित संख्यामा मात्रै अनुदान दिने गरी कोटा तोकिएको छ । त्यसैले, एउटा स्थानीय तहभित्र पर्नै सबै किसानले आफ्नो घरमा सुत्केरी हुने गाई–भैँसी स्याहार्न भत्ता नपाउन सक्छन् । ‘जसले छिटो नाम टिपायो, उसैले आफ्नो घरमा रहेको गाई–भैँसी सुत्केरी हुनासाथ भत्ता पाउने सम्भावना बढी हुन्छ,’ ढकालले भने ।

किसानले गाई–भैँसी ब्याएपछि भत्ता पाउन प्रमाणसहित स्थानीय निकायमा जानकारी गराउनुपर्छ । त्यसपछि, मूल्यांकन समितिले एकमुष्ट २ हजार ५ सय रुपैयाँ सुत्केरी गाई–भैँसी स्याहार्न किसानलाई भत्ता उपलब्ध गराउँछ । एउटा स्थानीय तहमा तोकिएको कोटाभन्दा कम आवेदन परेको खण्डमा र मूल्यांकन समितिले उचित ठह¥याएमा एउटै किसानको एक वर्षभित्र एउटाभन्दा बढी गाई–भैँसी ब्याएको प्रमाणका आधारमा भत्ता लिन सक्छन् ,आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया