काठमाडौं, मंसिर २०-निर्वाचन नजिकिएसँगै इन्धनको आयात ह्वात्तै बढेको छ । चुनावी प्रचारप्रसारमा सवारी साधनको प्रयोग बढेपछि इन्धनको खपत पनि बढेको हो ।

डिजेलको आयात ४० प्रतिशतले बढ्यो
पर्यटक बढेपछि हवाई इन्धनको माग पनि बढ्यो
सीमामा सस्तो हुँदा केही असर परेको छ : निगम

इन्धनको माग बढेपछि सोहीअनुसार आयात गरिएको आयल निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार अक्टोबरको तुलनामा नोभेम्बरमा आयात २३ प्रतिशतले बढेको छ । ‘आयात बढ्नुको मुख्य कारण चुनाव हो,’ निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने । बजेट स्वीकृतपश्चात् पूर्वाधार निर्माणका काम पनि सुरु भएकाले खपत बढेको उनले बताए ।

निगमको तथ्यांकअनुसार अक्टोबरमा १ लाख ९३ हजार ७ सय ८९ किलोलिटर इन्धन आयात भएको थियो । नोभेम्बरमा बढेर २ लाख ३८ हजार ५ सय ६९ किलोलिटर पुगेको छ । अगस्ट र नोभेम्बरको तुलनमा करिब ५० प्रतिशतले बढेको छ । अगस्टमा १ लाख ५९ हजार ६ सय ७७ किलोलिटर, सेप्टेम्बरमा १ लाख ६८ हजार ६ किलोलिटर आयात भएको निगमको तथ्यांकमा उल्लेख छ ।

सवारी साधन वृद्धिले पनि इन्धनको आयात बढेको हो । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार सवारी साधनको आयात बर्सेनि बढ्दै गएको छ । मुलुकभरि करिब २४ लाख सवारी साधन सञ्चालनमा छन् । सवारी साधनको संख्या बर्सेनि एक लाखभन्दा बढी थपिएका छन् । जसले गर्दा इन्धनको आयात बर्सेनि बढ्दै गएको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ । निगमको तथ्यांकअनुसार मुख्यत: डिजेलको आयात भएको देखिन्छ । तथ्यांकअनुसार अक्टोबरमा १ लाख ४ सय ७ लिटर आयात भएको डिजेल नोभेम्बरमा ४० प्रतिशत बढेर १ लाख ४१ हजार ५४ किलोलिटर आयात भएको छ । अगस्टको तुलनामा भने ६८ प्रतिशत बढेको छ । अगस्टमा ८४ हजार २ सय १५ किलोलिटर डिजेल आयात भएको निगमले जनाएको छ ,आजको कान्तिपुर दैनिकमा समाचार छ ।

आयात भएको इन्धन परिमाण (किलोलिटरमा)

इन्धन अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर

पेट्रोल ३७,५२३ ३५,३४८ ४२,२५५ ४२,०७७

डिजेल ८४,२१५ ८३,१७७ १,००,४४७ १,४१,०५४

मट्टीतेल १,३२४ १,७५२ १,७७१ २,०४४

हवाई इन्धन १०,५८० १७,१८० १९,४०० १९,५२०

ग्यास २६,०३५ ३०,५४९ २९,९१६ ३३,८७४

कुल १,५९,६७७ १,६८,००६ १,९३,७८९ २,३८,५६९

स्रोत : नेपाल आयल निगम

तपाईको प्रतिक्रिया